
एजेन्सी । भारतको तमिलनाडु सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने परिवारलाई आकर्षित गर्न नवजात शिशुलाई सुनको औंठी दिने नयाँ योजना कार्यान्वयनमा ल्याएको छ ।
‘थाई मामन थंगा मोतिरम’ नाम दिइएको योजनाअन्तर्गत सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने प्रत्येक नवजात शिशुलाई २२ क्यारेटको एक ग्राम तौलको सुनको औंठी उपहार दिइनेछ । मुख्यमन्त्री सी. जोसेफ विजयले मदुरैस्थित सरकारी राजाजी अस्पतालबाट योजना औपचारिक रूपमा सुरु गरेका हुन् । शुभारम्भ कार्यक्रममा उनले केही नवजात शिशुलाई आफ्नै हातले सुनको औंठी लगाइदिएका थिए ।
तमिल भाषामा ‘थाई मामन थंगा मोतिरम’को अर्थ ‘मामाको सुनको औंठी’ हुन्छ । तमिल समाजमा आमाका दाजु वा भाइलाई ‘मामा’ भनिन्छ । पारिवारिक सम्बन्धमा मामाको विशेष भूमिका रहने परम्परालाई योजनाको नामसँग जोडिएको सरकारले जनाएको छ ।
स्वास्थ्य मन्त्री अरुण राजका अनुसार बच्चा जन्मिएपछि परिवारको खुसीमा सहभागी हुने प्रमुख आफन्तमध्ये मामा पनि एक हुन् । यही सामाजिक सम्बन्ध र परम्परालाई सम्मान गर्दै सरकारले नवजात शिशुलाई सुनको औंठी दिने योजना अघि सारेको उनको भनाइ छ ।
सरकारले योजनाको उद्देश्य उपहार वितरणमा मात्र सीमित नरहेको जनाएको छ । सरकारी अस्पतालमा प्रसूति गराउने महिलाको संख्या बढाउने, सुरक्षित प्रसूतिको अभ्यासलाई प्रोत्साहन गर्ने र सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढाउने लक्ष्य राखिएको छ ।
योजनाको विपक्षी भारतीय जनता पार्टीले स्वागत गरे पनि सरकारी बजेटको प्राथमिकताका बारेमा प्रश्न उठाएको छ । भाजपा नेतृ तमिलिसाई सौन्दर्यराजनले सुनको औंठी दिनु सकारात्मक भए पनि परिवारलाई आवश्यक पोषण तथा सरकारी अस्पतालको पूर्वाधार, चिकित्सक र उपचार सुविधा सुधारमा पर्याप्त लगानी हुनुपर्ने बताएकी छन् ।
भारतका सरकारी अस्पतालमा भिड, सीमित शय्या, स्वास्थ्यकर्मीको अभाव र कमजोर पूर्वाधारजस्ता समस्या देखिँदै आएका छन् । यस्तो अवस्थामा तमिलनाडुको नयाँ योजनाले सरकारी स्वास्थ्य संस्थाप्रतिको आकर्षण र विश्वास कति बढाउँछ भन्ने यसको कार्यान्वयनपछि देखिनेछ ।

























