
एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा ७०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
दिल्लीको जन्तरमन्तर क्षेत्रमा भएको प्रदर्शनबाट मात्रै ठूलो संख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ पर्नेमा विद्यार्थी, राजनीतिक कार्यकर्ता तथा विपक्षी दलका नेतासमेत रहेका छन् ।
ज्ञानेश कुमारको राजीनामाको माग गर्दै ककरोच जनता पार्टी (सीजेपी)ले बिहीबारदेखि प्रदर्शन सुरु गरेको हो । यसअघि पनि भारतका विभिन्न विपक्षी दलले निर्वाचनसम्बन्धी विषयलाई लिएर विरोध प्रदर्शन गर्दै आएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये आम आदमी पार्टीकी नेतृ तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी र पूर्वमन्त्री सौरभ भारद्वाज पनि रहेको बीबीसी हिन्दीले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय जनता दलका सांसद मनोज झा र भारतीय कम्युनिस्ट पार्टीका नेता एमए बेबीलाई समेत जन्तरमन्तरबाट प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ ।
प्रदर्शनका क्रममा पक्राउ परेका अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएर प्रदर्शनस्थलबाट हटाएको जनाइएको छ । निर्वाचन आयोगको नेतृत्व र निर्वाचन प्रक्रियासम्बन्धी असन्तुष्टिलाई लिएर विपक्षी दलहरूले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

























