
म हराएछु कतै
यतै पाखा–भित्ताहरूमा
जंगली झार बनेर
न कसैले गोडमेल गर्यो
न कसैले उकेरा लगायो
यसै फैलिएछु म
नाबो बिरुवा बनेर
वर्षात्को एउटा पल
सधैँ पर्खिरहेँ
जसले भिजाएर जाओस् मेरो
बगर बनेको देहलाई
अवसान किमार्थ मलाई स्वीकार्य छैन।
जित्नेहरूले के जिते?
स्वयं आफैँसँग हार्नेहरू
मेरै छेउ भएर ओहोरदोहोर गरिरहेको देख्छु
लुकाएर आफ्नै आँखाको सपना
अरूको काँधमा विसर्जन गरेको देख्छु
च्यातेर सपनालाई
धुजा र धुजा बनाएर आफ्नै विवेकले
आफ्नै अस्तित्व खोज्न भौँतारिरहेको पाउँछु
तिमी मान्छे नबिकेर कुनै दिन
यहीँ सहरमा मैले
लिलामी बढाबढ गर्ने दिन नआउन्।
म त कन्दरामा फुलेको फूल हुँ
सधैँ मेरो सुवास तिमीलाई पठाइरहन्छु।
एउटै समय सधैँ रहँदैन
जस्तो कि शिशिरपछि हिउँद आउँछ
रात बितेपछि बिहानीले चिहाउँछ
मुर्झाएको बस्तीमा न्यानो पलाउँछ
जोडेर आफ्नै हात एक दिन
नतमस्तक त हुनैछ समयका अघि
त्यो दिन पहराको बुँकी फूल पनि हाँस्नेछ
तमाम अहंकारहरूलाई हेर्दै
र त्यही दिन विसर्जनको
ढोका खुल्नेछ
तिम्रा सारा प्रतिशोधहरू
नुहिनेछन् बिहानीका शीतमा
म त बगर न हुँ
सधैँ तिर्खा पर्खिरहने।

























