बेइमान लोग्नेमान्छेहरूको विरुद्ध

Share this
690shares
मुलुकी खबर
प्रेमिला राई
clock२०८३ आश्विन १७, शनिबार १०:३२

घामभन्दा पहिला मेरो आपा ब्युँझनुहुन्छ
र प्रकृतिलाई घाम आउँदै गरेको खबर सुनाउनुहुन्छ।
घामको पहिलो झुल्कोमा टल्किने शीत
मेरै आपाले खसाउनुभएको हो।

उत्पातै गर्मी होस् या कठ्याङ्ग्रिँदो ठिही,
आपाको लय रोकिँदैन
जसरी रोकिँदैन समयको काँटा
जसरी रोकिँदैन प्रकृतिको गति।

प्रकृतिको सुन्दर सृष्टिमा
मेरो आपाको पनि हक छ।
बतासले उडाइ ल्याएको धुलोमा
मेरो आपाको पाइतालाको निशानी छ,
जो तिमीले पनि पछ्याउन सक्छौ।

बगिरहेको कोसी, कर्णालीमा
मेरो आपाका स्मृतिहरू छन्,
जो तिमीले सँगाल्न सक्छौ।

पहाडको अक्करे भीर या तराईको फाँटहरूमा
कतै न कतै मेरो आपाका सपनाहरू फुलेका छन्,
जो तिमीले सजाउन सक्छौ।

मेरो आपा हिमालहरूको शृङ्खला हो,
जहाँ मेरो आपाको जीवन अग्लिँदै, होचिँदै
निरन्तर शृङ्खलाबद्ध छ।

मेरो आपा अनुभवको महासागर हो,
जहाँ तिमी डुब्न र उत्रन सक्छौ।

विश्वासको सगरमाथा हो,
तिमी गर्व गर्न सक्छौ।

मेरो आपा त्यो बाटो हो,
जसले गन्तव्यतिर डोर्‍याउँछ।

एक सन्तानका लागि
सायद आपा यस्तै हुँदो हो।

आपाले उठाएको कर्तव्यको भारी
कुनै पनि दिन मेरो काँधमा पर्दा
म थेग्न सकुँला कि नसकुँला?

यद्यपि म म हुनुको गर्वमा
मेरो आपाको त्याग छ।

आपा!

तिमी छौ र यो सृष्टि छ।
यदि तिमी नहुन्थ्यौ भने
मैले न यो घाम–जूनसँग लुकामारी खेल्न पाउँथेँ,
न उकाली–ओरालीमा हिँडिरहेको हुन्थेँ,
न बताससँग जिस्किन्थेँ,
न त झरी–बादलको समीप हुन्थेँ।

आपा! तिमी छौ र त म
आज सारा बेइमान लोग्नेमान्छेहरूको विरुद्ध बोलिरहेछु।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×