जी–७ ले रणनीतिक भण्डारबाट १० करोड ब्यारेल तेल बजारमा ल्याउने

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १२:२५

एजेन्सी । विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार महिनाभित्र १० करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने भएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको अध्यक्षतामा शुक्रबार भएको भिडियो सम्मेलनपछि जी–७ ले यस्तो निर्णय सार्वजनिक गरेको हो । सम्मेलनमा ऊर्जा बजारमा देखिएको अस्थिरता, बढ्दो इन्धन मूल्य र सम्भावित आपूर्ति अभावबारे सदस्य राष्ट्रका नेताहरूले छलफल गरेका थिए ।

सहमतिअनुसार अन्तर्राष्ट्रिय ऊर्जा निकायमार्फत रणनीतिक भण्डारमा रहेको तेल तथा डिजेल बजारमा पठाउन तत्काल सुरु गरिनेछ । पहिलो २० दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याउने योजना छ । आपूर्ति बढाएर मूल्यवृद्धिको दबाब कम गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो ।

जी–७ राष्ट्रहरूले एकअर्काबीच ऊर्जा तथा ऊर्जा उत्पादनको निर्यातमा प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि जनाएका छन् । अमेरिकाले घरेलु बजारमा डिजेलको मूल्य र आपूर्ति समस्या बढे निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेत दिएपछि युरोपेली मुलुकहरूले त्यसले विश्व बजारमा थप दबाब सिर्जना गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले आफ्नो रणनीतिक भण्डारबाट ठूलो परिमाणमा डिजेल बजारमा ल्याउन सहमति जनाएको बताएका छन् । अमेरिकाले आफ्ना किसान, ढुवानी व्यवसायी तथा अन्य व्यवसायलाई विश्वव्यापी डिजेल अभावको थप असरबाट जोगाउनुपर्नेमा जोड दिँदै आएको थियो ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण पनि विश्व ऊर्जा बजारमा दबाब बढेको छ । युद्धका कारण तेल आपूर्ति र ढुवानीमा जोखिम बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्रशोधित इन्धनको मूल्य तीव्र रूपमा बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×