
काठमाडौं । सरकारले थप १४ वटा विधेयक संसदमा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छन् । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी प्रक्रिया अघि बढिरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनमा १२ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् । तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने एउटा प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।
संघीय संसदमा विचाराधीन ३६ विधेयकमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलका क्रममा छन् । एउटा विधेयक राष्ट्रिय सभामा रहेको छ भने बाँकी विधेयक सम्बन्धित सदनमै विचाराधीन छन् । सरकारले संसदमा दर्ताका लागि अन्तिम चरणमा पुर्याएका विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक र कम्पनी ऐन संशोधन विधेयक छन् ।
त्यस्तै, विभिन्न पाँचवटा संहिता संशोधन विधेयक र औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भइरहेको छ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन र विदेशी विनिमयसँग सम्बन्धित विधेयक अघि बढाएको छ । ऊर्जा मन्त्रालयले नवीकरणीय ऊर्जासम्बन्धी विधेयक र जलस्रोतसँग सम्बन्धित ऐन संशोधन विधेयक अघि बढाएको छ ।
यसैगरी, पूर्वाधार न्यायाधिकरणसँग सम्बन्धित विधेयक, कृषिसम्बन्धी विधेयक र पशु बधशालासँग सम्बन्धित विधेयक पनि संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । कुन विधेयक कुन चरणमा पुगेको छ भन्ने विषयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नियमित रूपमा अनुगमन गरिरहेको जनाएको छ ।

























