
संखुवासभा । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले प्रहरीका भौतिक संरचना नागरिकलाई प्रभावकारी एवं गुणस्तरीय सेवा प्रदान गर्ने आधार भएकाले प्रहरी र समुदायबीचको सहकार्य अझ मजबुत बनाउनुपर्ने बताएका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित प्रहरी चौकी सिद्धपोखरीको नवनिर्मित भवन उद्घाटन गर्दै डीआईजी खनालले नयाँ भवन प्राप्त भएसँगै त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी प्रहरी सेवा थप प्रभावकारी र गुणस्तरीय हुने विश्वास व्यक्त गरे । बुधबार आयोजित कार्यक्रममा भवन उद्घाटन तथा निरीक्षणपछि सम्बोधन गर्दै उनले नवनिर्मित प्रहरी संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएकाले यसको संरक्षण र सम्बर्द्धनमा सबैको सहयोग आवश्यक रहेको बताए ।
डेढ तले सुविधासम्पन्न उक्त कार्यालय भवन नेपाल सरकारको नियमित बजेटबाट ५५ लाख ४१ हजार ९८० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय सुदन खत्री, खड्गबहादुर मगर र चन्द्रबहादुर न्यौपानेलाई कार्यक्रममा कदरपत्रसहित सम्मान गरिएको थियो । भवन निर्माणमा सहयोग पुर्याउने अन्य व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
यसअघि असोज १९ गते संखुवासभा पुगेका डीआईजी खनालले जिल्ला प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गरेका थिए । निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए ।
पहाडी तथा दुर्गम गाउँबस्तीमा रहेका नागरिकलाई सहज र सुलभ रूपमा प्रहरी सेवा उपलब्ध गराउन निर्देशन दिँदै उनले नियमित प्रहरी गस्ती परिचालन गरी नागरिकका पीरमर्का तथा गुनासा सुन्नुपर्नेमा जोड दिए । समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्नसमेत उनले निर्देशन दिएका थिए ।
नजिकिँदै गरेको चाडपर्वलाई सुरक्षित, व्यवस्थित र हर्षोल्लासमय बनाउन आवश्यकता अनुसार प्रहरी जनशक्ति परिचालन गर्न, यात्रालाई सुरक्षित र सहज बनाउन बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गर्न तथा संवेदनशील र बढी भिडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन उनले निर्देशन दिएका थिए ।
प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, अनुशासित र सेवामुखी भएर काम गर्न निर्देशन दिँदै डीआईजी खनालले फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दाको फर्छ्योट तथा बढ्दो लागुऔषध प्रयोग र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्नसमेत आग्रह गरेका थिए । प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न व्यावसायिक आचरण, पारदर्शिता र गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
निरीक्षणकै क्रममा डीआईजी खनालले संखुवासभाका स्थानीय बासिन्दा तथा नागरिक समाजका प्रतिनिधिसँग भेटघाट र अन्तरक्रिया पनि गरेका थिए । स्थानीयले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरी सेवा प्रवाह तथा प्रहरी–समुदाय सम्बन्धलगायतका विषयमा आफ्ना धारणा, सुझाव र अपेक्षा राखेका थिए ।
नागरिकका वास्तविक समस्या, गुनासा र अपेक्षालाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रतिबद्ध रहेको खनालले बताएका थिए । प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ, विश्वासिलो र सहकार्यात्मक बनाउन यस्ता अन्तरक्रिया महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
डीआईजी खनालले संखुवासभाका पूर्वप्रहरी कर्मचारीसँग पनि भेटघाट तथा अन्तरक्रिया गरेका थिए । पूर्वप्रहरी कर्मचारीहरूले आफ्नो सेवाकालका अनुभव तथा जिल्लाको शान्ति सुरक्षासँग सम्बन्धित विषयमा सुझाव र अपेक्षा राखेका थिए ।
पूर्वप्रहरी कर्मचारीहरूले प्रहरी संगठनमा कार्यरत रहँदा राष्ट्र, समाज र नागरिकको सुरक्षामा पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दै खनालले उनीहरूका अनुभव र सुझावलाई प्रहरी संगठनको हितमा उपयोग गर्दै अघि बढ्ने बताए । पूर्वप्रहरी र बहालवाला प्रहरीबीचको आत्मीयता, सहकार्य र संस्थागत सम्बन्धलाई थप मजबुत बनाउन भेटघाटले योगदान पुग्ने उनको विश्वास थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमनकुमार तिम्सिना, एसपी ई, रोशन सारु, चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठ, संखुवासभा प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल संखुवासभाका प्रमुख डीएसपी भवराज कटवाललगायत विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारीको उपस्थिति थियो ।


























