
पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको घोषणा गरिएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ । मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सकिएपछि पहिचानको प्रक्रिया अघि बढाइने उनले बताए ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी थिए । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । दुर्घटनामा परेका सबै विद्यार्थी कक्षा १० का रहेको प्रहरीले जनाएको छ ।



















