
विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ मा रोटेपिङबाट लडेर आठ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।
स्थानीय दुर्गा मन्दिरमा रहेको रोटेपिङ खेल्ने क्रममा केराबारी–८ का चन्द्र खड्काका छोरा सार्थक खड्का लडेर घाइते भएका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर रोटेपिङबाट लडेका बालकको टाउको, छाती र अनुहारमा चोट लागेको छ ।
घाइते बालकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।



















