
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजना प्रदर्शन गरेका छन् ।
मोरङको बूढीगङ्गा गाउँपालिका–४, हात्तीमुढास्थित पोलिटेक्निकमा बुधबार आयोजित प्रदर्शनीमा डिप्लोमा तहको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आफ्ना परियोजना प्रस्तुत गरेका हुन् । सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, मेकानिकल र आईटी इन्जिनियरिङका विद्यार्थीले विभिन्न उपकरण, एप तथा प्रविधिमा आधारित परियोजना प्रदर्शन गरेका थिए ।
आईटी विभागका विद्यार्थीले स्मार्ट लाइब्रेरी सिस्टम, होस्टल म्यानेजमेन्ट सिस्टम, अनलाइन सपिङ, डिजिटल भोटिङ, आर्मी एडमिनिस्ट्रेसन एप, स्मार्ट होम अटोमेसन र स्मार्ट होम सेक्युरिटी प्रणालीसँग सम्बन्धित एप तथा पोर्टल प्रदर्शन गरेका थिए । तीमध्ये कतिपय प्रणाली प्रयोगमा आइसकेका छन् भने अन्यलाई पनि सहज रूपमा प्रयोग गर्न सकिने आईटी विभाग प्रमुख इन्जिनियर युवराज चौधरीले बताए ।
इलेक्ट्रिकलतर्फका विद्यार्थीले स्वचालित विद्युत् हुकिङ नियन्त्रण प्रणाली, माइक्रो हाइड्रोपावर, विद्युत् ओभरलोड नियन्त्रण प्रणाली र भूमिगत केबलको स्थान पत्ता लगाउने प्रणालीलगायतका उपकरण प्रदर्शन गरे ।
त्यस्तै, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्सका विद्यार्थीले बाढीका बेला प्रयोग गर्न सकिने ओभरवाटर अलार्म सिस्टम, मोबाइलमा प्रयोग गर्न मिल्ने अटो स्मार्ट साइन ट्रान्सलेटर, पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर तथा सहरी क्षेत्रमा प्रयोग गर्न सकिने इलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल सिस्टम प्रदर्शन गरेका थिए ।
मेकानिकल इन्जिनियरिङका विद्यार्थीले दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले तयार गरिएको अटोरिक्सा, पेट्रोल र ब्याट्री दुवैबाट चल्ने मोटरसाइकल, इन्धनबिना प्रयोग गर्न सकिने धान काट्ने मेसिन र घाँस काट्ने विद्युतीय मेसिन प्रदर्शन गरे ।
सिभिल इन्जिनियरिङका विद्यार्थीले विश्वविद्यालयको प्रशासनिक भवन, परीक्षा भवन र छात्रावासलगायतका संरचनाको डिजाइन प्रस्तुत गरेका थिए ।
विद्यार्थीले निर्माण गरेका परियोजनाको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, रजिस्ट्रार डा. किशोर अधिकारी, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, राजन केसी र बलभद्र थारु, बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा, उपाध्यक्ष अमृताकुमारी गच्छदार, उद्योगी सोमप्रसाद अधिकारी तथा पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीलगायतले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा गाउँपालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई थप परिष्कृत गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । उद्योगी अधिकारीले विद्यार्थीले निर्माण गरेका परियोजनालाई लगानीकर्ताको सहयोगमा परिष्कृत गरी बजारमा ल्याउन सके प्रभावकारी हुने सुझाव दिए ।
संरक्षण समिति सदस्य राजन केसीले विद्यार्थीले लामो अध्ययन र मेहनतपछि निर्माण गरेका परियोजनालाई बन्द कोठामा सीमित नराखी बजारीकरण गर्न सके विद्यार्थी र शिक्षालय दुवैको प्रतिष्ठा बढ्ने बताए ।
उपकुलपति डा. पोखरेलले विद्यार्थीले निर्माण गरेका स्टार्टअप परियोजनाको बृहत् प्रदर्शनी आयोजना गर्न विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकमा इन्जिनियरिङ विषय अध्ययन गर्ने विद्यार्थीले हरेक वर्ष आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजना प्रदर्शन गर्दै आएका छन् ।



















