
इलाम । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि इलामबाट ६ जना साइकलिङ खेलाडी छनोट भएका छन् । कन्याम चियाबारीमा आयोजित जिल्लास्तरीय साइकल दौड प्रतियोगिताबाट उनीहरू छनोट भएका हुन् ।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना तथा जिल्ला साइकल सङ्घ इलामको संयोजनमा भएको प्रतियोगितामा एक दर्जन खेलाडी सहभागी थिए ।
प्रतियोगिताबाट टाइसन राई, प्रनुप कट्टेल, अनिल ढकाल, अयुष ढकाल, केशीका राई र प्रयास प्रधान कोशी प्रदेशस्तरीय छनोटमा परेका जिल्ला साइकल सङ्घ इलामका अध्यक्ष युवराज बस्नेतले जानकारी दिए ।
छनोट प्रतियोगितामा खेलाडीले कन्याम चियाबारीको तीन किलोमिटर लामो साइकल ट्रेल पूरा गर्दै आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए । सूर्योदय नगरपालिकाले कन्याममा सूर्योदय साइकल ट्रेल निर्माण गरेको छ ।
खेलाडी छनोट समितिका संयोजक तारा राईले छनोट भएका खेलाडीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेत, वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामा, जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईलगायत जनप्रतिनिधि, पर्यटन तथा होटल व्यवसायी र सरोकारवालाको उपस्थिति थियो ।
जिल्ला साइकल सङ्घका सचिव सरण फागोले साइकलिङ खेलले खेलकौशल विकाससँगै इलामको पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए । इलाममा केही दिनअघि मात्रै जिल्ला साइकल सङ्घ दर्ता भएको थियो ।



















