
काठमाडौं । काठमाडौंमा प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’मा ७५ जना पक्राउ परेका छन् । उनीहरूलाई पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका अनुसार पक्राउ पर्नेमा ६० पुरुष, १४ महिला र अन्य एक जना छन् । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सार्वजनिक स्थलमा शान्ति सुव्यवस्था कायम गर्ने तथा आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको बताए ।
सार्वजनिक स्थल, यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रलाई लक्षित गरी अभियान चलाइएको प्रहरीले जनाएको छ ।
अभियानका क्रममा सार्वजनिक स्थल तथा यातायातमा हातपात, होहल्ला, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता कार्यमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना र अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादी पनि पक्राउ परेका छन् । यी १२ जनालाई पनि अभियानकै क्रममा नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिक स्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण, फरार कसुरदार तथा प्रतिवादीको खोजी र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य हो । पक्राउ परेका व्यक्तिको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























