
एजेन्सी । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ । भारतीय मौसम विभागका अनुसार नेल्लोर र नरसपुरबीच चक्रवात तटमा प्रवेश गरेको हो । यसको प्रभावले तीव्र हावाहुरी चल्नुका साथै भारी वर्षा भएको छ ।
चक्रवातको जोखिमलाई मध्यनजर गर्दै ओडिशा सरकारले गन्जाम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।
बीबीसी हिन्दीका अनुसार चक्रवातको प्रभावले विशाखापट्टनमको ऋषिकोंडा तटमा एउटा डुङ्गामा क्षति पुगेको छ । नेल्लोरमा पनि एउटा डुङ्गा दुर्घटनामा परेको र त्यसमा सवार यात्रुहरूलाई सुरक्षित उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
अवस्था सामान्य नभएसम्म माझीहरूलाई माछा मार्न समुद्रमा नजान आग्रह गरिएको छ । यसअघि ‘अर्नब’ चक्रवातको प्रभाव परेको एक सातामै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा दोस्रो चक्रवात ‘मुरासु’ प्रवेश गरेको हो ।



















