
काठमाडौं । भारतको सिक्किममा हुँदै आएको सांगीतिक रियालिटी सो ‘सिक्किम आइडल’ यो वर्ष सन् २०२६ देखि अन्तर्राष्ट्रिय स्वरूपमा आयोजना हुने भएको छ । प्रतियोगिताको तेस्रो संस्करणदेखि नेपालसहित विश्वभर छरिएर रहेका नेपालीभाषी गायक–गायिकाले सहभागिता जनाउन पाउने भएका छन् ।
यसअघि सिक्किम राज्यमा सीमित रहेको प्रतियोगितालाई यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न लागिएको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिक्किम आइडलका कार्यक्रम संयोजक दिवश राईले अक्टोबर ३१ देखि प्रतियोगिताको अनलाइन अडिसन सुरु भइसकेको जानकारी दिए ।
“हामी नेपालसहित संसारभरका नेपाली प्रतिभालाई यस प्रतियोगितामा सहभागी हुन आह्वान गर्न चाहन्छौँ,” उनले भने । सिक्किमको राजधानी गान्तोकबाट प्रसारण हुने ‘हाम्रो वार्ता टेलिभिजन’ प्रतियोगिताको प्रस्तुतकर्ता हो ।
सिक्किम आइडल इन्टरनेसनलका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत डा. मनोज राईले यसअघिका दुई संस्करण सिक्किम राज्यस्तरमा मात्रै आयोजना भएको र यसपटक प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा लैजाने निर्णय गरिएको बताए ।
उनका अनुसार अनलाइन अडिसनका लागि ल्यान्डस्केप मोडमा खिचिएको दुई मिनेटको भिडियो मात्र स्वीकार गरिनेछ । भिडियोमा प्रतियोगीको अनुहार र स्वर स्पष्ट देखिने तथा सुनिने हुनुपर्नेछ । साउन्ड सिस्टम प्रयोग गरेर गाइएको भिडियो स्वीकार गरिने छैन । एकभन्दा बढी वाद्ययन्त्र बजाइएको भिडियो पनि अस्वीकृत हुनेछ । एउटा मात्र वाद्ययन्त्र प्रयोग गरिएको भिडियो भने स्वीकार गरिने उनले बताए ।
भिडियो पठाउन ह्वाट्सएप नम्बर उपलब्ध गराइएको छ । भारतको कन्ट्री कोडसहितका ९००९१० ६२९६५२९८१३ र ९४७५३७१००२ नम्बरमा भिडियो पठाउन सकिनेछ । इच्छुक गायक–गायिकाले इमेलमार्फत पनि भिडियो पठाउन सक्ने जनाइएको छ ।
आयोजकका अनुसार काठमाडौंमा नोभेम्बर ३० मा प्रत्यक्ष अडिसन हुनेछ । अडिसन स्थल भने तय भइसकेको छैन । सोही दिन झापाको बिर्तामोड र भारतको देहरादुनमा पनि प्रत्यक्ष अडिसन गर्ने तयारी छ । यस्तै, डिसेम्बर ३ मा भारतका गुवाहाटी, सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा अडिसन हुनेछ । सिक्किमका विभिन्न जिल्लामा डिसेम्बर ६, ७ र ८ मा प्रत्यक्ष अडिसन गर्ने तयारी रहेको राईले बताए ।
प्रतियोगितामा सहभागी हुन १५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । माथिल्लो उमेरको सीमा भने तोकिएको छैन । प्रतियोगिताको विजेताले १० लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेले पाँच लाख र तेस्रो हुनेले तीन लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगीको लोकप्रियता सामाजिक सञ्जालमा प्राप्त लाइक र सेयरका आधारमा मूल्याङ्कन गरिने आयोजकले जनाएको छ । प्रतियोगीले भिडियो पठाउँदा आफ्नो नाम, ठेगाना, उमेर र आफूलाई पायक पर्ने प्रत्यक्ष अडिसन स्थल स्पष्ट खुलाउनुपर्नेछ । इमेलमार्फत भिडियो पठाउनेले सम्पर्क नम्बरसमेत उल्लेख गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष तथा सिक्किम आइडलका संरक्षक सञ्जल दिलपाली राईले पहिलो संस्करणमा जेत्सेन डोना लामा र दोस्रो संस्करणमा ओजस्वी गुरुङ विजेता बनेको जानकारी दिए । ओजस्वी अहिले काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहेको उनले बताए ।

























