
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले प्रहरी संगठनलाई नागरिकसँग थप नजिक बनाउने प्रतिबद्धता जनाएका छन् । उनले नागरिकको सुरक्षा र सम्मान तथा प्रहरी संगठनको हितका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि केसीले प्रहरीको सबैभन्दा ठूलो सम्पत्ति जनतासँगको सम्बन्ध भएको बताए । नेपाल प्रहरी जनताकै लागि भएको उल्लेख गर्दै उनले प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सूचना र सचेतनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी र नागरिकबीच देखिएको दूरी हटाउन नवनियुक्त आईजीपीलाई निर्देशन दिए । प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा प्रहरी र नागरिकबीच दूरी महसुस हुने अवस्था आउन नदिन आग्रह गरे ।
‘प्रहरी र नागरिकबीच दूरी छ । त्यो दूरी आगामी दिनमा नदेखियोस्,’ गृहमन्त्री गुरुङले भने । उनले संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्न निर्देशन दिए ।
आईजीपी केसीले प्रहरीलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउन आवश्यक स्रोतसाधन र कानुनी स्पष्टता उपलब्ध गराउन सरकारसँग आग्रह गरे । सरकारले बुधबार नै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो ।


























