
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गर्दै विदेशी खेलाडीलाई कडा चुनौती दिएका छन् । प्रतियोगिताका १३ खेल सकिँदासम्म व्यक्तिगत प्रदर्शनका आधारमा नेपाली खेलाडी अग्रस्थानमा देखिएका हुन् ।
ब्याटिङतर्फ विराटनगर किंग्सका लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा दुई अर्धशतकसहित १८८ रन बनाएका छन् । उनको स्ट्राइक रेट १६२.०६ छ । विराटनगरको लगातार दुई जितमा लोकेशको आक्रामक ब्याटिङ महत्त्वपूर्ण बनेको थियो ।
सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन् । नेपाली युवा ब्याटर पवन सर्राफले १०३ र इमरान शेखले १०० रन बनाइसकेका छन् ।
बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामी सात विकेटसहित शीर्ष स्थानमा छन् । उनले तीन खेलमा ८.२० को इकोनोमी रेटमा विकेट लिएका हुन् । इङ्ग्ल्यान्डका मोइन अली र श्रीलङ्काका एन्जेलो म्याथ्युजले पनि समान सात विकेट लिएका छन् ।
सुदूरपश्चिम रोयल्सका अनिल खरेलले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन् । जनकपुर बोल्ट्सका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादवले पनि चार खेलमा छ विकेट लिँदै आफ्नो क्षमता देखाएका छन् । सातको इकोनोमी रेटमा बलिङ गरिरहेका राहुल यस संस्करणमा ‘प्लेयर अफ द म्याच’ समेत बनिसकेका छन् ।
राहुलको प्रदर्शनबाट प्रभावित जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले उनलाई ‘नेपाली मलिङ्गा’ को उपमा दिएका छन् । अनुभवी विदेशी र राष्ट्रिय टोलीका खेलाडीसँग प्रतिस्पर्धा गर्दै राहुलले देखाएको आत्मविश्वास नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक सम्भावना भएको उनको भनाइ छ ।
विराटनगर किंग्सका निर्देशक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र चौधरीले एनपीएलमा नेपाली खेलाडीको प्रदर्शनलाई घरेलु क्रिकेटका लागि सुखद संकेतका रूपमा व्याख्या गरेका छन् । सुरुवाती चरणमै नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा अग्रता लिनु उत्साहजनक रहेको उनले बताए ।
उनका अनुसार यसअघिका संस्करणमा विदेशी खेलाडीले सुरुवातदेखि नै बढी प्रभाव जमाउने गरेकामा यस पटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तरता देखाएका छन् । ‘प्लेयर अफ द म्याच’ अवार्ड जित्ने खेलाडीको सूचीमा समेत घरेलु खेलाडी अगाडि देखिनु सकारात्मक पक्ष भएको चौधरीले बताए ।
नेपाल क्रिकेट संघ (क्यान) को पूर्वछनोट समिति संयोजकसमेत रहेका चौधरीले प्रतियोगिताका बाँकी खेलमा पनि नेपाली खेलाडीले यही लय कायम राख्ने विश्वास व्यक्त गरे । एनपीएलले अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्दै आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिएको र त्यसबाट घरेलु खेलाडीको आत्मविश्वास बढेको उनको भनाइ छ ।



















