
इलाम । जस्बिरेमा जारी हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब, बिब्ल्याँटेले जितेको छ । फाइनलमा पाहुना टोली पाँचथर एफसीलाई १-० गोलले पराजित गर्दै श्रीजंघा च्याम्पियन बनेको हो ।
खेलको एक मात्र निर्णायक गोल सुजन विकले गरेका थिए । उपाधिसँगै श्रीजंघाले एक लाख ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पाँचथर एफसीले ६१ हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको मुख्य विधातर्फ सर्वाधिक गोलकर्ता अब्जन लामा, उत्कृष्ट गोलरक्षक अभिषेक राई, उत्कृष्ट खेलाडी पाँचथर एफसीका निशान लिम्बू र उदयीमान खेलाडी आयोजक हेल्लो जस्बिरेका एलिस मुखिया घोषित भए । उनीहरूलाई प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापा र आयोजक समितिका अध्यक्ष विजय सुब्बालगायतले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।
यसैगरी, भेट्रान्सतर्फको फाइनलमा डाइनामिक भेट्रान्स सुम्बेकले माइपोखरी भेट्रान्सलाई ३-० गोलले पराजित गर्दै उपाधि जितेको छ । डाइनामिकका यादव गुरुङले दुई तथा चक्र राईले एक गोल गरेका थिए ।
भेट्रान्सतर्फको उपाधिसँगै डाइनामिकले ४१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता माइपोखरीले २६ हजार रुपैयाँ पायो । यस विधातर्फ सर्वाधिक गोलकर्ता डाइनामिकका यादव गुरुङ, उत्कृष्ट खेलाडी च्याङ मुखिया र उत्कृष्ट गोलरक्षक उपविजेता टोलीका रुपेन राई घोषित भए ।
आयोजक हेल्लो जस्बिरे फुटबल क्लबका अध्यक्ष विजय सुब्बा ‘अशोक’का अनुसार दीपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मुख्य उद्देश्य स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्नुका साथै जस्बिरे क्षेत्रको पर्यटकीय प्रवर्द्धन गर्नु हो ।

























