
विराटनगर । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदी मोरङमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१९ स्थायी ठेगाना भएका ४२ वर्षीय विजयकुमार राई रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब ३ बजे बुढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरेको हो ।
राई लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनका क्रममा उनी उक्त कारागारबाट २०८२ साल भदौ २४ गते भागेर फरार भएका थिए ।
कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । पक्राउ परेका राईले अझै ८ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाउने तयारी भइरहेको छ ।

























