झापा र धनकुटाबाट २९ जना पक्राउ, ३ लाख १९ हजार बढी बरामद

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १०:५३

विराटनगर । कोशी प्रदेशको झापा र धनकुटामा जुवाजन्य खेल खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ३ लाख १९ हजार २२५ रुपैयाँ नगद, तास, कौडा र मोबाइल फोन बरामद गरेको छ ।

झापामा दुई छुट्टाछुट्टै स्थानबाट २२ जना पक्राउ परेका छन् । झापा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीका अनुसार कमल गाउँपालिका–५ स्थित एक घरमा जुवा खेलिरहेका १२ जना पक्राउ परेका हुन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार दिउँसो घरमा खानतलासी गर्दा घरधनीसहित १२ जनालाई हारजित हुने गरी तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट १ लाख १८ हजार २०० रुपैयाँ नगद, पाँच बुक तास र नौ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, दमक नगरपालिका–१० स्थित स्वास्थ्य चौकी छेउको पुरानो गोठमा कौडा खेलिरहेका १० जना मंगलबार बिहानका राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८९ हजार ७१० रुपैयाँ नगद, १५ थान कौडा र नौ थान मोबाइलसहित नियन्त्रणमा लिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

यता धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा प्रहरीका सूचना अधिकारी डीएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार जुवाको खालबाट ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद भएको छ । प्रहरीले जुवाको खालबाट ४ हजार रुपैयाँ र पक्राउ परेका सात जनाको साथबाट १ लाख ७ हजार ३१५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.