
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संकटपूर्ण अवस्थामा सम्हालेको इनिङ्स र बलरहरूको कसिलो प्रदर्शनको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको कम स्कोरको प्रतिस्पर्धामा सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्यो । १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । जितसँगै सुदूरपश्चिम लिग चरणका सात खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सुरुवातमै दबाबमा परेको काठमाडौंलाई जितसम्म पुग्न नसक्नु महँगो पर्यो । ४८ रनमै पाँच विकेट गुमाएपछि रासिद खान र दुसान हेमन्थाले छैटौं विकेटका लागि ३४ रन जोड्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, उनीहरूको साझेदारीले जितका लागि पर्याप्त आधार बनाउन सकेन ।
रासिदले अविजित ३५ रन बनाए । ३१ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । हेमन्थाले २१ रनको योगदान दिए । ओपनर साम हिजलेट ११, आदिल आलम ८, सन्तोष यादव १० र कप्तान करण केसी ८ रनमा आउट भए । ओपनिङमा आएका भीम शार्की र सहान अराचिगेले रनको खाता खोल्न सकेनन् ।
सुदूरपश्चिमका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै काठमाडौंलाई लक्ष्यभन्दा टाढै रोके । अनिल खरेलले दुई विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले एक–एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । टोलीको सुरुवात निकै कमजोर रह्यो । आठ रनमै चार विकेट गुमाएपछि संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै उकासेका थिए ।
दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ६० रन बनाए । उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे । आरिफले २५ बलमा १६ रन जोडे । त्यसपछि थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनकै साझेदारी गर्दै दीपेन्द्रले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए । रत्नायके २६ रनमा अविजित रहे ।
जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए । दुई अर्धशतक पूरा गर्ने उनी प्रतियोगिताका दोस्रो खेलाडी बनेका छन् । काठमाडौंका रासिद खानले पनि यसअघि दुई अर्धशतक बनाइसकेका छन् ।
काठमाडौंका जहानदाद खानले प्रभावकारी बलिङ गर्दै चार ओभरमा एक मेडनसहित २२ रन खर्चेर तीन विकेट लिए । सन्तोष यादवले तीन ओभरमा १६ रन दिँदै दुई विकेट हात पारे ।
सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिमको शीर्ष दुईमा रहने सम्भावना बलियो बनेको छ । लुम्बिनी लायन्स वा काठमाडौं गोर्खाजमध्ये एक टोली आफ्नो अन्तिम खेलमा पराजित भए सुदूरपश्चिम शीर्ष दुईमा रहने निश्चित हुनेछ ।
लगातार चार खेल जितेको काठमाडौंले भने पहिलो हार बेहोरेको छ । ६ खेलबाट आठ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ । शीर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न उसले लिग चरणको अन्तिम खेलमा आइतबार पोखरा एभेन्जर्सलाई हराउनुपर्नेछ । शीर्ष दुईमा रहन सके काठमाडौंले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

























