
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज (सोमबार) देशका चार प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । हिमाली क्षेत्रमा मात्रै वर्षा र हिमपातको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा छिटपुट वर्षा हुन सक्नेछ ।
महाशाखाले कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने जनाएको छ । यस्तै, बागमती प्रदेशको हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली कायम रहनेछ । अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने अनुमान छ ।
यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँच र केही स्थानहरुमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ । बाँकी अधिकांश भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

























