दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १३:१५

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आइजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । त्यसपछि अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो । तर सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ सरेको थियो ।

तिहार र छठ पर्वको बिदापछि मंगलबारदेखि अदालत नियमित सञ्चालनमा आएपछि सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि सुनुवाइको मिति निर्धारण गरेको हो । बुधबार एकल इजलासमा कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी रहेको र आफू अन्यायमा परेको दाबीसहित कार्की सर्वोच्च अदालत पुगेका हुन् । उनले सरकारको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.