मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार ०७:२१

विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–६ मानेस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति ११ः२० बजेतिर टाँडीबाट किसानचोकतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३३ प ३२२३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक स्थानीय २६ वर्षीय रोशन लिम्बूको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा छ । अँध्यारो सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–११ बीपीचोकस्थित मदन भण्डारी लोकमार्गमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार राति १०ः४५ बजेतिर कटारीबाट बेल्टारतर्फ जाँदै गरेको एसके ०३ पी २२७० नम्बरको हुन्डाई कारले पुरानो विद्युत् लाइनबाट बीपीचोकतर्फ जाँदै गरेको स ८ प ७४६५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–७ घर भई हाल त्रियुगा नगरपालिका–११ बैंकलाइनस्थित अपाच क्याफेमा काम गर्ने २१ वर्षीय आयुष रिजाल र पछाडि सवार स्थानीय २३ वर्षीय निरज शर्मा घाइते भएका छन् ।

रिजालको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । शर्माको अनुहार र दुवै हातमा चोट लागेको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

स्कुटरलाई ठक्कर दिने कारका चालक भारतको सिक्किमस्थित गान्तोकका २४ वर्षीय दिलकुमार विश्वकर्मा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् । प्रहरीका अनुसार उदयपुरको दुर्घटनामा दुवै सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.