
काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले केन्द्रबाट कम्प्युटर चोरी भएको जानकारी दिएका हुन्।
पुनले बुधबार (आज) सामाजिक सञ्जालमार्फत चोरीको सीसीटीभी फुटेज सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएका छन्।
चोरीमा संलग्न व्यक्तिको गतिविधि केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। पुनले उक्त भिडियो सार्वजनिक गर्दै चोरीमा संलग्न व्यक्तिलाई चिन्ने वा उसको बारेमा जानकारी हुने व्यक्तिलाई ९८४१५९२३६१ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।
घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको समेत पुनले जानकारी दिएका छन्। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

























