
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी दुई भागमा विभाजित भएको बताएका छन् । कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भएको बताए ।
मिलाउने प्रयास गर्दागर्दै पनि सम्भव नभएपछि बाध्य भएर छुट्टै संगठन निर्माणमा लागेको उनको भनाइ थियो । पार्टीका हरेक तहमा दुईवटा समिति बनेको उल्लेख गर्दै लेखकले पार्टीको आन्तरिक अवस्था र समग्र राष्ट्रिय राजनीति दुवै सुखद् नरहेको बताए ।
‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’ पूर्वगृहमन्त्रीसमेत रहेका लेखकले अहिले कांग्रेस कठिन अवस्थामा रहेको उल्लेख गरे ।

























