
काठमाडौं । आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको तयारी तीव्र भइरहेका बेला दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलान पाँच सदस्यीय टोलीसहित बुधबार काठमाडौं आइपुगेका छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा मंसिर ४ गतेदेखि काठमाडौंमा सुरु हुने प्रतियोगितामा सहभागी हुन बलानसहित महासंघका महासचिव अब्दु रहिमन मंगला सेरीलगायतको टोली नेपाल आएको आयोजक महासंघका महासचिव घमबहादुर थापाले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई आयोजक महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरूले स्वागत गरेका थिए।
महासचिव थापाका अनुसार प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान र इथियोपियाका करिब ७५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रान विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सिंगल तथा ग्रुप स्पाइरिङ, प्याटर्न र सेल्फ डिफेन्स विधाका खेल समावेश गरिएका छन्। विभिन्न विधामा गरी कुल ३६० स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछन् । नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौँ पटक हो। यसअघि भएका तीन संस्करण भारतले आयोजना गरेको थियो।



















