
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनल प्रवेश गर्ने यो अन्तिम अवसर हो ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायरमा पुगेको हो । यता, चितवनले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
आजको खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ । उपाधिका लागि उसले पहिलो क्वालिफायर जित्दै फाइनल पुगिसकेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ ।



















