
धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले निर्माण गरिरहेका दुवै प्रशोधन प्रणाली सञ्चालनमा आएपछि वर्षायाममा धमिलो पानी आउने समस्या न्यूनीकरण हुने र उपभोक्ताले प्रशोधित खानेपानी पाउने कार्यालयले जनाएको छ ।
एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण भइरहेका यी दुई प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ । आयोजना सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका वडा नम्बर ३, ४ र ६ का करिब एक हजार १०० परिवार प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिए ।
उनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सञ्चालनमा आएपछि तीनवटा वडाका एक हजार १०० परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ,’ उनले भने ।

























