
इलाम । अग्रज साहित्यकार, पत्रकार तथा राजनीतिक व्यक्तित्व भोजबहादुर कार्कीको निधन भएको छ। इलाम नगरपालिका–७ का कार्कीको बुधबार निधन भएको उनका भतिजा विजय कार्कीले जानकारी दिए ।
वि. सं. १९९३ मा जन्मिएका कार्कीले एसएलसीसम्मको शिक्षा हासिल गरेका थिए । २०१५ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका उनी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । नेपाली कांग्रेसका सदस्यका रूपमा राजनीतिक परिवर्तनका लागि योगदान दिएका उनले प्रवास र जेलजीवनसमेत बिताएका थिए ।
राजनीति, समाजसेवा, साहित्य र पत्रकारितामा सक्रिय कार्कीले इलामको राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए । उनी ‘सौगात’ मासिकका सम्पादकका रूपमा पनि परिचित थिए ।
उनको योगदानको कदर गर्दै इलाम नगरपालिकाले २०७६ चैत २९ गतेको बैठकबाट सम्मान गर्ने निर्णय गरेको थियो । संविधान दिवस २०७६ को अवसरमा उनलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
पारिवारिक स्रोतका अनुसार कार्कीको बिहीबार बिहान ११ बजे माईखोलास्थित राजदुवाली घाटमा दाहसंस्कार गरिनेछ ।



















