
विराटनगर । विरानगरमा पनि भीमसेनजात्रा भव्य रुपमा मनाइएको छ । विशेष गरेर नेवार समुदायले यो जात्रा मनाउने गरेका छन् ।
पछिल्लो समय भीमसेनजात्रामा सबै समुदायको सहभागिता हुने गरेको पाइएको छ ।
विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा भीमसेनजात्रा निकालिएको हो ।

मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गर्दै जात्रा सुरु भएको थियो ।

मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा विराटनगरको मुख्य बजार क्षेत्र परिक्रम गर्दै झिः पुचमा पुगेर समानपन भयो ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताउँदै, मन्त्री मण्डलले भने, ‘नेपालमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको छ । आर्थिक रुपमा नेपाल कमजोर भए पनि कला र संस्कृतिमा नेपाल विश्वमै धनी मुलुक हो । नेवारी संस्कृति ऐतिहासिक र धनी संस्कृति मानिन्छ । जात्रालाई निरन्तरता र मन्दिरको संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले हरेक वर्ष भीमसेनजात्रा भव्य हुँदै गएको बताए । उनले जात्रामा मोरङका विभिन्न ठाउँबाट जात्रामा उपस्थिति हुने क्रम बढ्दै गएको उल्लेख गरे ।

भीमसेनजात्राले युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका महासचिव भविसकुमार श्रेष्ठले बताए ।
नेपाली कला र संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेका बेला भीमसेनजस्ता नेपाली मौलिक संस्कृतिले युवापुस्तामा आफ्नो संस्कृतिप्रति जागरण ल्याउने दाबी गरे ।
हरेक जातजातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको महासचिव श्रेष्ठको भनाइ थियो । भीमसेनलाई लक्ष्मीको अर्को रुपमा पनि हेर्ने गरिएको श्रेष्ठले बताए ।
विगत १२ वर्षदेखि हरेक वर्ष इन्द्रजात्राका दिन विराटनगरमा भीमसेनजात्रा निकालिने गरेको श्रेष्ठले जानकारी दिए ।




















