
काठमाडौं । बन्दी सहायता नियोग (पाम)ले निर्माण गरेको पाम क्म्युनिटी एन्ड स्पोर्ट्स सेन्टरको शनिबार उद्घाटन भएको छ ।
नागर्जुन नगरपालिका–१ स्थित बिजुली चोक, एकलटारमा नवनिर्मित सेन्टरको उद्घाटन १ नम्बरका वडाध्यक्ष रामेश्वर लामा र पामका अध्यक्ष डा. नारायणकाजी श्रेष्ठले संयुक्त रुपमा गरे ।
सेन्टरमा जुडो हल, जिम हल, पुस्तकालय, अध्ययन कक्ष, चेन्जिङ रुम, शौचालयलगायतका सुविधा छन् ।
जिएलएस फ्युचर फाउन्डेसन, जर्मनी, जुडोका विश्व च्याम्पियन डेनिस भान र नागर्जुन नगरपालिकाको सहयोगमा करिब १ करोड ७७ लाख लागतमा सेन्टर निर्माण गरिएको बताइएको छ ।
सन् २०२३ को मे मा सेन्टर निर्माणको कार्य सुरु गरिएको थियो ।
पामका जुडो प्रमुख प्रशिक्षकसमेत रहेका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले हल निर्माणसँगै खेलाडीलाई प्रशिक्षण गराउन धेरै सहज भएको बताउँदै आगामी दिनमा राष्ट्रलाई पदक दिलाउने खेलाडी उत्पादनमा अझ सक्रिय रहने प्रतिबद्धता जनाए ।
टोकियो ओलम्पिक– २०२० मा जुडोकी सोनिया भट्ट सहभागी हुँदा सूर्यनारायण उनका प्रशिक्षक थिए ।
जुडो खेलमा पामका खेलाडीको गर्विलो उपस्थिति रहँदै आएको छ ।
१२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग)की रजतलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी मनिता श्रेष्ठ प्रधान पामकै उत्पादन हुन् ।
मनिताले ओलम्पिकसम्मको यात्रा तय गरिसकेकी छन् । मनिताले पेरिस ओलम्पिक २०२४ मा ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटामार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
तीन दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ, देवकीमाया र निशा आ–आफ्नो तौलसमूहका वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।
इन्द्रले १२ औं सागमा कांस्य र १३ औं सागमा रजत जितेका थिए ।
देवकीले बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडोको कातमा स्वर्ण जितेकी थिइन् । मनिता, इन्द्र र देवकीले एसियाली खेलकुदमा पनि सहभागिता जनाइसकेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पामकै उत्पादन उत्तम प्रधानले कांस्य तथा सुवोध मण्डल र पेमा याङजी शेर्पाले स्वर्ण जितेका छन् ।
विभिन्न कारणले कैदी जीवन बिताइरहेकाको सन्तानलाई आश्रय दिने उद्देश्यले सन् १९९१ मा पारिजात वाइबाले स्थापना गरेको पाममा हाल २८ जना बालबालिका आश्रित छन् ।
सबै जुडो खेल्छन् । उनीहरुका अलावा समुदायका ६२ जना बालबालिका पनि पाममै जुडोको प्रशिक्षण लिइरहेका छन् ।
सेन्टर उद्घाटनका अवसरमा मनितासहित पामका अध्यक्ष श्रेष्ठलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।



















