
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग नेपाल पराजित भएको छ । क्यानडासँग ४ विकेटले पराजित भएसँगै नेपालको उपाधि सम्भावना निक्कै कमजोर बनेर गएको छ ।
क्यानडाले १४० रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।
दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भएका थिए। सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । नेपालका अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन जोडे ।
नेपाललाई ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेलले १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४–४ रन बनाए । गुल्सन झा १६ बलमा २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे ।
क्यानडाका हर्ष ठाकेरले ४ ओभरमा १७ रन खर्चेर २ तथा प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले १–१ विकेट लिए ।
नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेपछि उपाधि सम्भावना जीवितै रहेको थियो । तर, क्यानडासँग अहिले पराजित भएपछि उपाधिको सम्भावना न्यून भएको हो । अन्तिम खेलमा बुधबार राति नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने छ ।



















