
विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाबाट सशस्त्र प्रहरीले मंगलबार राति लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटाहाबाट खटिएको इन्सपेक्टर सम्झना देउजा नेतृत्वको टोलीले राति ९ बजेतिर गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्ववन्धु खड्काका अनुसार नम्बर नखुलेको शंकास्पद मोटरसाइकललाई सशस्त्र प्रहरीले रोक्न खोजेको थियो ।
सशस्त्रलाई देख्नसाथ मोटरसाइकलमा रहेको झोला फ्यालेर चालक फरार भएका थिए । झोला खानतलासी गर्दा ८ किलोग्राम गाँजा बरामद भएको एसपी खड्काले बताए ।
उनका अनुसार फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको जानकारी उनले दिए ।

























