
काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।
उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठितमध्ये लण्डन, बर्लिन, न्यूयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन् । उनले चारै म्याराथन पूरा पनि गरेका छन् । ४ घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट टाइमिङ हो ।
उक्त समय उनले बोस्टन म्याराथनमा कायम गरेका थिए । उनले सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै ४ घण्टा ३० मिनेटमा दौड पूरा गर्ने लक्ष्य राखेका छन् । शम्भु बुधबार अमेरिका प्रस्थान गर्दै छन् ।
उनले कठिन मानिने घरेलु म्याराथन एभरेष्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि सहभागिता जनाइसकेका छन् ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक वैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एन चन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट शुम्भले दौड्न सुरु गरेका थिए ।
सिप्रदी ट्रेडिङ प्रा.लि. का निर्देशक शम्भु सिप्रदीकै पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । उनी विगत ३२ वर्षदेखि सिप्रदीमा आवद्ध छन् ।
उनलाई सफलताको शुभकामना दिँदै सोल्टी नेपाल क्लबले शनिबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्यो ।
मार्सल आर्ट्स पृष्ठभूमिका सोल्टी नेपाल क्लबका अध्यक्ष दमन बस्नेत, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनाल र क्लबका सदस्यले बिदाइ गरे ।
कार्यक्रममा अध्यक्ष बस्नेतले पाको उमेरमा पनि फुल म्याराथनमा सहभागी हुन लागेका शम्भुको साहसको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धरले पनि शम्भुको साहसको कदर गर्दै मानिसले चाहेको खण्डमा उमेर बाधक नहुने धारणा व्यक्त गरे ।



















