
काठमाडौं । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम वल्ड बुक अफ रेकर्ड्स, लन्डनमा समावेश गरिएको छ ।
भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।
गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच भिडन्त भएको थियो ।
उक्त खेलमा भगवती विजयी भएकी थिइन् । सोही गतिविधिका कारण भगवतीको नाम वल्ड बुक अफ रेकर्ड समावेश गरिएको हो ।
रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड भएको भगवतीले जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए । वल्ड बुक अफ रेकर्ड्स, लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे ।
गिनिज बुक अफ वल्ड रेकर्डमा कीर्तिमानका लागि पहल भइरहेको भगवतीले बताइन् ।



















