सुनसरीमा साइकलयात्रीको मृत्यु : खानेपानी कार्यालयको गाडीले ठक्कर दिएको खुलासा

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार २३:०२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीका ४५ वर्षीय दीपु चौधरीको मृत्यु प्रकरणले अर्को रूप लिएको छ । उनको मृत्यु सवारीसाधनको ठक्करबाट भएको पत्ता लागेको हो ।

प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका चौधरीको मृत्यु साइकलबाट लडेर भएको आशंका गरिएको थियो । तर, खानेपानी कार्यालय भोजपुरको गाडीको ठक्करबाट साइकलयात्री चौधरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साइकलमा यात्रारत चौधरीलाई रामधुनी–६ स्थित भित्री पक्की सडक खण्डमा असोज १८ गते बिहान ८ः३० बजे खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनलाई घरमा लगेर घरयासी उपचार गरियो ।

स्वास्थ्यमा थप समस्या हुँदै गएपछि परिवारका सदस्यले उपचारका लागि असोज २६ गते मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगे । उपचारका क्रममा २७ गते आइतबार दिउँसो मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई गाडीले ठक्कर दिएको जानकारी सोमबार इलाका प्रहरी कार्यालय पकलीमा आफन्तले गराएका थिए । पकलीका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएपछि चौधरीको मृत्यु दुर्घटनामा परेर भएको पत्ता लागेको हो ।

प्रहरीले दुर्घटनास्थल वरपरका सीसी क्यामेरा फुटेज अध्ययन गरेको थियो । त्यस क्रममा गाडीले साइकलयात्रीलाई ठक्कर दिएको यकिन भयो । सडक पार गर्दै गरेको साइकललाई तीव्र गतिमा रहेको गाडीले ठक्कर दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।

गाडीले ठक्कर दिएपछि साइकलयात्री चौधरी सडकमै लडेका थिए । साइकलसँगै लडेका उनी केहीबेरमा आफैं उठ्छन् । दुर्घटनापछि चालकले गाडी रोकेका थिए । तर, स्थानीयहरु भेलाजम्मा हुन थालेपछि गाडी लिएर चालक फरार भएको फुजेटमा देखिन्छ ।

घटनास्थलबाट भागेको गाडीलाई कसैले पनि रोक्ने प्रयास गरेको देखिँदैन । प्रहरीलाई तत्काल घटनाको जानकारी गराइएन । तर, चौधरीको मृत्यु भएपछि भने प्रहरीलाई आफन्तले घटनाको वास्तविकता बताएका हुन् ।

त्यसपछि अनुसन्धान अघि बढाएको प्रहरी दुर्घटना गराउने गाडी पत्ता लगाउन सफल भएको डीएसपी तिमल्सिना बताउँछन् । प्रहरीले दुर्घटना गराउने गाडी र चालक भोजपुरको षडानन्द नगरपालिका–११ का ४६ वर्षीय सुरेश तामाङलाई पकली झिकाएको छ ।

प्रहरीका अनुसार मंगलबार रातिसम्म तामाङ पकली आइपुगेका छैनन् । घटनाको अनुसन्धान अघि बढाइएको बताउँदै डीएसपी तिमल्सिनाले अनुसन्धानपछि थप कुरा प्रष्ट हु्ने जानकारी दिए ।

‘सुरुमा साइकलबाट लडेर घटना भएको जानकारी प्रहरीमा आएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि स्कोरपिओ गाडीले ठक्कर दिएको भन्ने खबर आयो,’ उनले भने, ‘त्यसपछि प्रहरीले अनुसन्धानमा थप सक्रियता देखायो । सीसी क्यामेरा फुटेजको मद्धतले घटनाको वास्तविकता पत्ता लागेको हो ।’

 

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.