
विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिका विराटनगरका विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच खेल हुने भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–७ गणेश माविको खेल मैदानमा आज भएको खेलमा विराटनगरको रंगशाला भेट्रान क्लबले सुन्दरहरैंचको विराट चोक भेट्रानलाई टाइब्रेकरमा ५–४ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट बराबरी १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा रंगशालाका लागि अरुण लामा, दीलिपप्रसाद बास्कोटा, मनोज मारिक, प्रवीण राई र कोमल खवासले गोल गरे ।
विराट चोका डेनी राई, दीपक भण्डारी, चरन गुरुङ र सुवासले गोल गरे भने सन्तोष लिम्बूले गोल गर्न नसक्दा हार्नु पर्यो ।
खेलको प्लेयर अफ द म्याच रंगशाला भेट्रानका केशव न्यौपानेले १ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक नेता चोक टाईगर क्लबका अध्यक्ष मुक्ति गच्छदारले मंगलबार फाइनल खेलको तालिका तय गरे पनि केही प्राविधि कारणले गर्दा खेल केही दिन पर सार्नु परेको जानकारी दिए ।
उनले मंगबलारसम्म फाइनल खेलको अर्का मिति तय भइसक्ने बताए । प्रतियोगिताको विजेताले नगद ३१ हजार, उपविजेताले २१ हजार र ट्रफी प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ बेष्ट प्लेयर र बेष्ट किपरले जनही ५ हजार पाउने छन् ।



















