
काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा विशेष अदालतले उनीसहित केन्द्रका निर्देशक सफल श्रेष्ठलाई बुधबार दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
यही प्रकरणमा तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत १० जनाले भने सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले पौडेल र श्रेष्ठलाई कसुरदार ठहर गर्दै अर्यालसहित १० जनालाई सफाइ दिएको हो ।
अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा पौडेल र श्रेष्ठबाहेक अन्यको संलग्नता पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ । विशेषले यो मुद्दाको कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गरिरहेको थियो ।
११ व्यक्ति र १ कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबीसहित विशेषमा मुद्दा लगेको हो ।

























