
काठमाडौं । सर्वोच्च अदालतले विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।
प्रहरीले पक्राउ गरेर उनीमाथि विद्युतीय कारोबार ऐनलगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण एवं आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ ।
विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । साथै, इजलासले प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउनसमेत आदेश दिएको छ ।

























