फायल फोटो ।विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर तस्करीको कपडा भण्डारण गर्ने गरेको पाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विराटनगरकै व्यक्तिले विराटनगर बजारभित्र कोठा भाडामा लिएर भन्सार छलीका कपडा राख्ने गरेको पत्ता लागेको जानकारी दिए । उनका अनुसार भारतबाट अवैध हिसाबले भित्राइएको कपडा भण्डारणस्थलमा प्रहरीले आइतबार अपरान्ह छापा हानेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी नेतृत्वको टोलीले अपरान्ह ४ः३० बजेतिर छापा हानेर १३ पोका अवैध कपडा बरामद गरेको छ । प्रहरीका अनुसार ४ वटा ठूला बोरा छन् भने ९ वटा साना पोका छन् ।
विराटनगर महानगरपालिका–१५ का अन्दाजी ३५/४० वर्षीय आनन्दकुमार साहले विराटनगर–२ स्थित बद्री ढकालको घरको कोठा भाडामा लिएर तस्करीका कपडा राख्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले छापा हानेको थाहा पाएपछि साह फरार भएका छन् ।
उनको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार कोठाभित्र कुर्ता सुरुवाललगायतका कपडा मात्रै थियो । साहले कहिलेदेखि कोठा भाडामा लिएका हुन् र भाडाबापत कति रूपैयाँ तिर्ने गरेका थिए भनेर खुलेको छैन । बरामद भएका कपडाका पोका जिल्ला प्रहरी कार्यालयमा लगेर राखिएको छ ।
कपडाको मूल्य खुल्न सकेको छैन । अन्दाजी १० लाख रूपैयाँ बराबरको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार पोका खोलेर मूल्यांकन गरेपछि मात्रै मूल्य यकिन हुन्छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको र बरामद भएको कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने एसपी चिमरियाले बताए । प्रारम्भिक अनुसन्धानबाट तस्करीकै कपडा राख्नका लागि मात्रै कोठा भाडामा लिएको पाइएको उनको भनाइ छ ।

























