प्रतिभा पहिचानमा वक्तृत्वकलातर्फ उषन र गायनतर्फ निराजन प्रथम

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार २०:१०

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय तेस्रो बृहत प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् ।

१८ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै उषनले पहिलो पुरस्कार जित्न सफल भइन् । ‘हाम्रो संस्कृतिः हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र आदित्य कार्की द्वितीय हुँदा लक्ष्मी माविकी छात्रा पिंकी सहनी तृतीय भइन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र विराटनगरस्थित आदर्श माविका नेपाली विषयका शिक्षक पुण्यराज खनाल निर्णायक रहेको समितिले प्रतिस्पर्धी १८ विद्यालयमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरे ।

त्यस्तै, गायन प्रतियोगितामा जेभियर ईङ्लिस स्कुलका छात्र निराजन हिङ्माङ प्रथम, नरग्राम माविकी छात्रा सदीक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलका छात्र नेशन अपूर्व खनाल र कोर्वान ईङ्लिस स्कुलका छात्र जेनिश झाले सान्त्वना स्थान प्राप्त गरे ।

गायन प्रतियोगिताको निर्णायकमा इटहरीकी गायिका सुनिता कटवाल र रेवन मगर रहेका थिए ।

सबै प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई मंसिर १५ गते पुरस्कार प्रदान गर्ने आयोजक बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.