
सिरहा । सिरहामा मदिरा (रक्सी) तस्करी गर्ने गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरी बलका सइ (सशस्त्र प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।
घटना बरियारपट्टी गाउँपालिका– १ कचनारीमा भएको हो । गाडीले ठक्कर दिँदा बीओपी (बोर्डर आउट पोस्ट) बरहरीमा कार्यरत सशस्त्रका सइ लक्ष्मणप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ड्युटीमै रहेका बेला आज (आइतबार) बिहानका राति करिब ३ बजेतिर यादवलाई गाडीले ठक्कर दिएको हो । चारपांग्रे गाडीले ठक्कर दिए पनि गाडी नम्बर खुलेको छैन ।
सिरहा प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार मदिरा तस्करी गरिरहेको सूचनाका आधारमा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाडी रोक्न खोजेको थियो । तर, मोटरसाइकलमा ड्युटीमा रहेका सशस्त्रलाई ठक्कर दिएर गाडी भारततिर भागेको उनले बताए ।
गाडीको नम्बर र चालकको पहिचान खुल्न नसकेको एसपी पण्डितले बताए । गाडीको खोजतलास तीव्र पारिएको उनको भनाइ छ । भारतको विहारमा मदिरा प्रतिबन्ध छ । तर, मधेस प्रदेशका सिमावर्ती क्षेत्रबाट मदिरा बिहारतिर तस्करी हुन्छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सशस्त्रका सइलाई ठक्कर दिएको गाडी पनि मदिरा तस्करीमा प्रयोग हुँदै आएको खुलेको छ । स्थानीयले पनि प्रहरीलाई त्यही जानकारी दिएका छन् ।
मोटरसाइकलमा सवार रहेका सइ यादवलाई ठक्कर दिने गाडी तीव्र गतिमा थियो । गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पतालमा राखिएको छ । सीमा नाकामा सुरक्षा कडाइ गरेर गाडीको खोजी जारी राख्दै घटनाको अनुसन्धान अघि बढाइएको एसपी पण्डितले बताए ।

























