
चितवन । साहारा चितवन सहकारी ठगी प्रकरणमा समेत मुछिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उनलाई चितवन लगेर मंगलबार र बुधबार बयान लिइएको थियो । उनी कात्तिक २ गते पक्राउ परे । लामिछानेलाई पोखराबाट बुटवल, काठमाडौं हुँदै चितवन लगिएको हो ।
उनीसहित १० जनाविरुद्ध मंरिर ५ गते पुरक जाहेरी दर्ता भएको थियो । २४ जना बचतकर्ताले दिएको जाहेरीका आधारमा यसअघि चितवनमै पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनालसँग पनि बयान भइसकेको छ ।
बचतकर्ताले रवि, छवि र खनालसँगै जीबी ग्रुप अफ कम्पनीका शेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का शेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ, रामबहादुर खनालविरुद्ध जाहेरी दिएका हुन् ।
त्यसअघि ४ सय ४६ बचतकर्ताको तर्फबाट भदौ ८ गते परेको जाहेरीका आधारमा १७ जना प्रतिवादी थिए । मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ । त्यतिबेलाका प्रतिवादी सहकारीका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर हुन् ।
सहकारीको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको प्रहरी निष्कर्ष छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा समेत रवि र छवि तानिएका छन् । उनीहरुसहित १४ जनाविरुद्ध पर्सबाट पक्राउ पुर्जी जारी भएको छ ।

























