
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीमाथि अनुसन्धान नसकिएको भन्दै म्याद थप गर्न प्रहरीले अदालत लगेको हो । लामिछानमाथि १३ दिनको म्याद थप गर्नुपर्ने माग प्रहरीको छ ।
उनी माथिको अनुसन्धान अझै नसकिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान गर्न भन्दै उनलाई आइतबार पुनः अदालत लगिएको हो । अदालतले अनुमति दिएमा लामिछानेलाई अझै केही दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने छ ।
काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । त्यसपछि बयानका लागि बुटवल, काठमाडौं र चितवन पनि पुर्याइयो । सहकारी ठगीसँगै उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा सहकारीलगायतमा भएको रकम अपचलनमा लामिछाने मुछिएका छन् । रास्वपाले भने उनलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिने काम भइरहेको भनेर आपत्ति जनाएको छ ।

























