
विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । आदेशपछि उनी धराैटी बुझाएर छुटेकी छन् ।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मंसिर २७ गते संघीय संसदको सार्वजनिक लेखासमिति सभापति पोखरेलकी पत्नी अञ्जलासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको हो । उनी धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष हुन् ।
रंगेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास भने पाँच लाख धरौटीमा छुटेका थिए । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
यो सहकारी संघिय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग नजिक रहेका उनका कार्यकर्ता धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए । सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा बिचाराधीन छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।
सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।
‘सफ्टवयरमा रहेको अभिलेख अनुसार ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ५३४ संस्थाबाट ऋण लिएकोमा हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ ऋण उठेको र १६ करोड १६ लाख ५७ हजार ८३२ ऋण उठ्न देखिन्छ,’सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ,‘तर उक्त ऋणहरुको सम्बन्धमा जाहेरी तथा निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमसिल कर्जा शिर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जानिकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धीत ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाईन्छ ।’

























