
पोखरा । सहकारी ठगीको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं जाँदैछन् ।
जहाजबाट उनी काठमाडौं जाने तय भएको थियो । अन्तिम समयमा उनी स्थलमार्ग हुँदै काठमाडौं जाँदैछन् । तर, लामिछाने आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा हाजिर नहुने भएका छन् ।
शुक्रबार कार्यालय समय ३ बजेसम्मलाई मात्रै हो । काठमाडौं पुग्न ढिला हुने भएपछि उनी आइतबार बिहान मात्रै अदालत हाजिर हुने भएका हुन् । उनी बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि ६५ लाख रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
लामिछाने बिहान १० बजे नै पोखराबाट काठमाडौंका लागि बाटो लागेका थिए । रविलाई आफैँ अदालतमा उपस्थित हुने सर्तमा प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको हो ।
सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै उनी अदालतमा हाजिर हुने रास्वपाका प्रवक्ता मनिष झाले बताए । उनका अनुसार समर्थक र कार्यकर्ताको ठूलो समूह भएकाले लामिछाने स्थलमार्गबाटै काठमाडौंका लागि हिँडेका हुन् ।
लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।
आदेशलगत्तै उनले बिहीबार साँझ नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका थिए । धरौटी बुझाएपछि रविलाई प्रहरीले छाडेको थियो । काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

























