
काठमाडौं । पौने ५ करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग र त्यसअन्तर्गतका विभिन्न कार्यालयका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रूपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप श्रेष्ठमाथि लागेको छ ।
श्रेष्ठले काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर–घडेरी, जग्गा, गाडी खरिद तथा विभिन्न कम्पनीको सेयरमा लगानी गरेको र विभिन्न व्यक्तिको नाममा समेत जग्गाजमिन र चलअचल सम्पत्ति लुकाउँदै स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ असार ३० देखि २०७७ असार ३१ सम्ममा श्रेष्ठको वैधानिक कमाइ ११ करोड २५ लाख ६५ हजार १ सय ९९ रुपैयाँ देखिन्छ ।
तर, उक्त अवधिमा उनले १६ करोड १३ लाख ९५ हजार ५ सय २८ रूपैयाँ कमाइ गरेको देखिने अख्तियारले जनाएको छ । उनले सार्वजनिक सेवामा रहँदा गरेको अवैध कमाइ वैधानिक रुपमा कमाएको रकमभन्दा ४ करोड ८८ लाख ३० हजार ३ सय २९ रूपैयाँ बढी देखिने घिमिरेले बताए ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुवा हरिकुमार श्रेष्ठ, आमा इन्दकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ । अवैध तरिकाले आर्जन गरेको सम्पत्ति जफत गर्न परिवारका सदस्यलाई समेत प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

























