
विराटनगर । मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा न्यायाधीश सवार सरकारी कार दुर्घटनामा परेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ५४ वर्षीय नारायण रेग्मी तथा उनका परिवारका सदस्य र नेतादार सवार बी एबी ७१४६ नम्बरको कार मंगलबार साँझ ५ः१० बजेतिर दुर्घटनामा परेको हो । रेग्मीको घर विराटनगर महानगरपालिका–४ मा पर्छ । दुर्घटनामा न्यायाधीश रेग्मी र उनका भिनाजु इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् ।
घाइते दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार रेग्मीको अवस्था मध्यम छ । छात्ती र टाउकोमा चोट रहेका उनी बोल्न सक्ने अवस्थामा छन् ।
खनालको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए । उनका अनुसार खनाल बोल्न सक्ने अवस्थामा छैनन् । अमेरिकामा बस्दै आएका खनाल सोमबार मात्रै नेपाल आएको पारिवारिक स्रोतले बतायो ।
कारमा न्यायाधीश रेग्मी र खनाल तथा रेग्मीका छोरा २७ वर्षीय निश्चल र छोरी २० वर्षीया भूमिका रेग्मी एवं चालकसमेत गरेर ५ जना सवार थिए । कार दुर्घटनामा परे पनि निश्चल र भूमिका तथा चालक सकुशल छन् ।
काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ‘उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको हो,’ कार्यालय स्रोतले भन्यो, ‘आफैं अनियन्त्रित भएर जंगलभित्रको सडकबाट करिब ३ मिटरजति तल झरेको पाइयो ।’
कार्यालयका अनुसार चालकले ‘ब्रेक’ लगाउने क्रममा अनियन्त्रित भएर कार पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार चालक भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चालक खाटेजाले पनि आफूलाई ढाडमा समस्या भइरहेको बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परेर सरकारी कार भने क्षतिग्रस्त बनेको छ ।

























