
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित बाह्रबिसे बजारमा बुधबार दिउँसो आगलागी हुँदा ५ घर जलेका छन् ।
बजारमा रहेका घरमा एक्कासि आगलागी हुँदा ठूलो क्षति भएको छ । प्रहरीका अनुसार रामबहादुर राईको भान्सा कोठाबाट दिउँसो लगभग ३ बजेतिर आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगोले रामबहादुर राईसहित अमृत राई, लालसिंह लिम्बूको १/१ र सुशील तामाङको २ वटा घर जलेको जानकारी प्रहरीले दिएको छ । किराना र कपडा पसल रहेका घरमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीको पूर्वानुमान छ । यद्यपि, क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।
आगलागीबाट मानविय क्षति भने नभएको र आगलागीको कारण पनि प्रष्ट हुन नसकेको संखुवासभा प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब २ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

























