
विराटनगर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको उच्च अदालत बार एसोशिएसन विराटनगरले निन्दा गरेको छ ।
बुधबार जिल्ला अदालत काठमाडौं परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थकले सहकारी पीडितको पक्षमा बहस गरेको भन्दै त्रिपाठीमाथि हातपात गरेका थिए । बहस गरेकै आधारमा हातपात भएको भन्दै उच्च अदालत बार एसोशिएसन विराटनगरले विरोध जनाएको हो ।
उच्च बारले घटनामा संलग्नलाई कारवाही गर्न र कानुन व्यावसायीलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन माग गरेको छ । ‘कानुन व्यवसायीको हैसियतले पक्षको तर्फबाट बहस पैरवी गर्नु र गर्न पाउनु संवैधानिक अधिकार हो,’ उच्च बार विराटनगरका सचिव विनोदकुमार तिम्सिनाले विज्ञप्ति जारी गर्दै भनेका छन् ,‘….वरिष्ठ अभिवक्ता माथिको दुर्व्यवहार र आक्रमणको घोर भर्त्सना तथा निन्दा गछौँ । मुद्दामा पक्ष वा विपक्ष बाट बहस गरेकै कारणबाट कानुन व्यवसायी माथि हुने जुनसुकै प्रकारका प्रहार, दुर्व्यवहार, आक्रमण तथा अराजकताको कडा शब्दमा भर्त्सना गर्दै दोषी उपर कडा भन्दा कडा कारवाही गर्न यस सम्बन्धित निकाय प्रति जोडदार माग गर्दछौं ।’
बुधबार लामिछानेको थुनछेक बहसपछि बाहिर निस्कने क्रममा उनका समर्थकले त्रिपाठीमाथि आक्रमण गरेपछि प्रहरीले त्रिपाठीलाई सुरक्षित स्थानमा लगेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अधिवक्तामाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेकाे छ । कार्यवहाक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दी कारवाहीकाे माग गरेका हुन् ।

























